जीवनमा हामीले विभिन्न प्रकारका समस्या र परिस्थितिहरुको सामना गर्नपर्ने हुन्छ । यस्तो हुंदा विभिन्न प्रकारका चिन्ता, दोधार अथवा डर उत्पन्न गर्ने खालका विचार हाम्रो दिमागमा आउन सक्छन् । यो सामान्य प्रक्रिया पनि हो । तर यस्तै किसिमका विचार, कारण बिना नै, असामान्य र अनावश्यक रुपमा बारम्बार हाम्रो मस्तिष्कमा आउन थाल्यो भने यसैले मानसिक रोगको रुप लिन्छ । अब्सेसिभ कम्पल्सिभ डिसअर्डरयस्तै प्रकारका अनावश्यक विचार दोहोरिने एक प्रकारको मानसिक रोग हो ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डरका लक्षणहरु
१. असामान्य र अनावश्यक रुपमा एकै प्रकारको विचार अथवा कुनै कुरा गर्ने तीव्र इच्छा बारम्बार दिमागमा दोहोरिइरहने ।
२. आफूले सोंच्न नचाहंदा नचाहंदै समेत यस्ता विचार दिमागमा आपसेआप आउने ।
३. यी विचार आफ्नै मस्तिष्कका उपज हन्, तर एकदमै बेकारका विचार हन् भन्ने कुरा पीडित व्यक्तिलाई थाहा हने ।
४. यस्ता विचारलाई दिमागबाट हटाउन निकै प्रयास गर्दा समेत नहट्ने ।
५. यी विचारले गर्दा अत्यधिक तनाव र डरको अनुभूूति हुने
यस्ता प्रकारका विचारलाई अब्सेसन भनिन्छ । जस्तै — घरबाहिर हिंड्दा आफूले मूलढोका लगाईयो कि लगाइएन भन्ने दोधारे विचार जो कोहीको दिमागमा पनि आउन सक्छ । यसो भएपछि, चित्त बुझाउनकै लागि भए पनि सो व्यक्तिले एक पटकसम्म फर्केर गई ढोका लगाएको वा नलाएको भन्ने कुरा हेर्न समेत सक्छ । तर आफूले ढोका लगाएको हो भन्ने थाहा हुंदा हुंदै पनि लगाए वा लगाइंन भन्ने दोधारे विचार लगातार दिमागमा आउन थालेको खण्डमा, यस्तो विचारलाई अब्सेसन भन्न सकिन्छ ।
यस्ता प्रकारका विचारले तनाव, डर वा त्रास उत्पन्न गराउन सक्छ । जस्तै ढोका लगाए वा लगाइंन भन्ने दोधारे विचारपछि ढोका खुल्लै छोडेको खण्डमा चोरी पो हने हो कि भन्ने विचार आउन सक्छ । यसले गर्दा बारम्बार गएर नहेरुन्जेल पीडित व्यक्तिको चित्त नबुझ्न सक्छ । घरीघरी यस्तै गतिविधि दोहोरिंदाखेरि अनावश्यक रुपमा समय खेर गएर आफूले गर्नुपर्ने काम भने पूरा नहुन सक्छ । अब्सेसनका कारणले हुने डर त्रास वा तनाव कम गर्न गरिने गतिविधि वा क्रियाकलापलाई कम्पल्सन भनिन्छ ।
धेरैजसो देखिने अब्सेसिभ विचारहरु:
- फोहोर वा किटाणुको संक्रमणको डर
- कुनै पनि काम गरे वा गरिनं भन्ने दोधार
- अश्लील क्रियाकलाप सम्बन्धी विचार
- अरुलाई हानि पुर्याउ कि भन्ने विचार
धेरैजसो देखिने कम्पल्सिभ व्यवहारहरु
- हात धोइराख्ने
- सरसफाई गर्ने
- गन्ती गन्ने
- दोधारे विचार
यो समस्याका का कारण पीडित व्यक्तिको दैनिक जीवन तथा सामाजिक जिम्मेवारी वहन गर्ने प्रक्रियामा समेत निकै नकारात्मक असर परेको हुन्छ ।
अब्सेसिभ कम्पल्सिभ डिसअर्डरका कारणहरु
- मष्तिष्कमा विभिन्न प्रकारका रसायनका मात्रामा गडबडी
- मनोवज्ञानिक कारण
- वंशानुगत कारण
अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको शंका लागेमा के गर्ने
- उपचारको लागि मनोचिकित्सककोमा सम्पर्क राख्ने
- अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको उपचारका लागि मुख्य रुपमा औषधिहरुको प्रयोग गरिन्छ ।
- आवश्यक परेका अवस्थामा मनोवैज्ञानिक उपचार विधि समेत अपनाईन्छ ।
यो रोग विशेष गरी ६० वर्ष भन्दा कम उमेरमा नै शुरु हन्छ । उपचार नगरेको खण्डमा यो समस्या रही नै रहन्छ ।